श्रीमती कुटने क्रान्तिकारी नेता प्रहरी खोरमा, अवैध यौन क्रियाकलापमा संलग्न दुई भारतीयसहित आठ पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ८:३२ मा प्रकाशित

चन्द्रनिगाहपुर २३ मङ्सिर–श्रीमतीलाई यातना तथा कुटपिट गरेका भन्दै प्रहरीले एकीकृत नेकपा (माओवादी) भोजपुरा राज्य समिति सदस्य वहिद अन्सारीलाई पक्राउ गरेको छ ।
एकवर्ष अघिदेखि अन्सारीले श्रीमतीलाई यातना दिँदै आएको र शुक्रबार राति मरणासन्न हुने गरी कुटपिट गरेपछि प्रहरीले पीडित महिलालाई शनिबार बेलुका घरबाटै उद्धार गरेको छ ।
कुटपिटबाट २५ वर्षीया शारदा उप्रेतीको आँखा, कम्मर, खुट्टा, अनुहारमा चोट लागेको छ ।
करिब आठ वर्षअघि सशस्त्र द्धन्द्धका वेला प्रेम विवाह गरेका अन्सारी र उप्रेतीका दुई छोरा छन् ।
पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
अवैध यौन क्रियाकलाप संलग्न दुई भारतीयसहित आठ पक्राउ
विराटनगर–१५ स्थित बसपार्कका विभिन्न होटल तथा लजबाट प्रहरीले शनिवार अवैध यौन क्रियाकलापमा संलग्न रहेका दुई भारतीयसहित आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामकुमार यादवको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित होटल तथा लजमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको हो ।
बसपार्कमा रहेको एमएस होटललगायतका चमेनागृह र लजबाट चार महिला र चार पुरुषलाई आपत्तिजनक अवस्थामा कोठाबाटै पक्राउ गरेको निरीक्षक यादवले बताए ।
केही दिनयता विराटनगर आसपासका क्षेत्रमा अवैध यौन क्रियाकलाप वृद्धि हुन थालेको गुनासो आएपछि प्रहरीले होटल, लज र रेस्टुराँमा छापा मार्ने कार्यलाई तीव्रता दिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us