विवाहपञ्चमी:जानकीको बिदाइमा महन्थ रुन्छन्

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ६:१८ मा प्रकाशित

जनकपुरधाम, २२ मङ्सिर–मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीताराम विवाह शनिवार श्रद्धापूर्वक मनाइँदै छ ।
सो अवसरमा लाखौँ श्रद्धालु बिहान सवेरैदेखि यहाँस्थित पवित्र पोखरीहरूमा स्नान गरी जानकी, राम र जनक मन्दिरमा पूजा अर्चना गरिरहेका छन् । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महत्वका रुपमा मनाउने गरेका छन् । janakpur
त्रेता युगमा सीतारामको विवाह भएको स्मरणमा यहाँ विवाह महोत्सव मनाइँदै आएको छ । सो महोत्सव यहाँको सबैभन्दा ठूलो महोत्सवका रुपमा रहेको छ ।  मिथिला नरेश शिरध्वज(जनक)ले आफ्नी छोरी जानकीको स्वयंवरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपक्ष पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
विवाह महोत्सवमा सहभागी भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वाससमेत  छ । ‘रामायण’अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंबरमा ३३ कोटि देवताको उपस्थिति रहेको बताइन्छ ।
सीतालाई छोरी–बहिनीका रुपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरुपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्माबलम्बी पनि सामेल हुने गरेका छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गर्छ । पौराणिक व्यवस्थाअनुरुप राममन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रुपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिने प्रचलन रहिआएको छ । रङ्गभूमिमा स्वयंवर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह गराइन्छ ।
त्यस अवसरमा निस्कने डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन पनि सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसो ठट्टा, गाउँ गाउँबाट आउने गरेको झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गर्छ ।
फूलबारी प्रसङ्गदेखि स्वयंबरसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रुपमा रुपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरुष आफूलाई धन्य सम्झन्छन् । पहिले महोत्सव तिरहुतिया गाछीमा मनाइन्थ्यो भने एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । महोत्सवका दिन श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । सो अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिने गरिन्छ ।
मिथिलावासीका लागि सीताराम विवाहमहोत्सव हर्ष र बिछोडको पनि दिन हो ।  जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको व्यथा छोरी बिदाइ गर्ने बेलाको पिताको व्यथाभन्दा अलिकति पनि कम हुँदैन भने राम मन्दिरका महन्थ राम गिरि सीतालाई घर भित्रयाउने कल्पनामा उत्साहित रहन्छन् ।
प्राध्यापक डा महेन्द्र नारायण मिश्रका अनुसार सीतारामप्रतिको आस्था नेपाल र भारतमा नभई थाइलैन्ड, इन्डोनेसिया र मलेसियामा पनि प्रभावकारी रहेको बताउछन उनका अनुसार थाइलैन्डमा एउटा प्रदेशको नामकरण नै अयोध्या गरिएको छ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us