हवाई आक्रमण गरी अमेरिकाले दुई पाकिस्तानी मार्‍यो

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ९:५५ मा प्रकाशित

पाकिस्तान, १४ मंसिर– अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको आदिवासी इलाकामा शुक्रबार भएको अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी वजिरिस्तानको प्रमुख सहर मिरानशाहको आन्वार  क्षेत्रमा सो हवाई आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त इलाकामा तालिवान र अल कायदासम्बद्ध आतङ्ककारीको बलियो प्रभाव रहेको बताइन्छ । त्यसैले सो क्षेत्रमा समय समयमा अमेरिकाले ड्रोन आक्रमण गर्ने गर्दछ ।

आतङ्ककारीको परिसरलाई लक्ष्यगरी गरिएको दुइवटा क्षेप्यास्त्र प्रहार गरिएको एक वरिष्ठ सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जनाएका छन् । सो आक्रमणमा मारिएका व्यक्तिहरुको तत्काल परिचय भने खुल्न नसकेको समाचारमा जनाइएको छ । उत्तरी वाजिरिस्तान पाकिस्तानाको अर्ध स्वायत्त सातवटा क्षेत्रमध्येको एक हो । पाकिस्तानले अमेरिकी चालकरहित विमान आक्रमणको बारम्बार बिरोध गर्दै आएको छ ।

यस आक्रमणमा निर्दोष नागरिकको हत्या हुने गरेको पाकिस्तानले आरोप लगाउँदै आएको छ । तर अमेरिकाले भने आतङ्ककारीलाई कारबाही गर्ने एक उत्तम उपाय   भएको जनाउँदै यसलाई निरन्तरता दिँदै आएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us