राप्तीबाट तीनजना महिला निर्वाचित

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १४:०६ मा प्रकाशित

दाङ, ८ मंसिर– राप्ती अञ्चलका पाँच जिल्लाका १३ निर्वाचन क्षेत्रबाट तीनजना महिला निर्वाचित भएका छन् । निर्वाचितहरुमा  तीनै जना जनजाति महिला हुन् ।

दाङ १ बाट नेपाली काँग्रेसकी पार्वती डिसी चौधरीले ८ हजार ७ सय १९ मत प्राप्त गरी विजयी बन्न सफल भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत माओवादीका नारायणी शर्माले ५ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दाङ २ बाट नेपाली काँग्रेसकी सुशीला चौधरी १० हजार ४ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने हाल नेकपा–माओवादीमा रहेकी दामा शर्मा सो क्षेत्रबाट विजयी भएका थिए ।

यसैगरी, रोल्पा २ बाट एमाओवादीका ओनसरी घर्तीमगर १४ हजार ९ सय ६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार दशौदी ९ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए ।

गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनमा राप्ती अञ्चलका ५ वटा जिल्लाबाट विभिन्न दल र स्वतन्त्र गरी ३४ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us