चालकको मृत्यु,रोकिएन परिवारको आँशु

काठमाण्डु टुडे २०७० मंसिर २ गते १८:०३ मा प्रकाशित

Bomb-Ghaite-baraबारा,मङ्सिर–नेपाल बन्द भएपछि बारा निजगढका ट्रक चालक राजु देउजा करेसाबारीमा लसुन रोप्दै थिए ।
फुर्सदमा छोरा–छोरीसँगै तरकारी लगाउन व्यस्त राजुलाई ट्रक धनीले फोन गरेर जीतपुर सामान पु¥याएर आऊ भन्दा अनकनाएका थिए ।
ट्रक धनी हरि प्रसार्इंले म पनि जान्छु आफ्नै ठाउँमा त हो नि भन्दै बोलाएपछि अस्वीकार गर्न नसकि राजु ट्रक चलाएर जितपुर हान्निए ।
ट्रकको धान झारेर घर फर्किदै गरेको ट्रकमाथि बिहीबार बम हमला भयो । पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाहा पुल आइपुग्नै लाग्दा जङ्गलबाट निस्केका बन्दकर्ताले चालकको क्याबिनमा नै पुग्ने गरी पेट्रोल बम हानेपछि शरीरमा आगो सल्कियो । ज्यान जोगाउन हाम्फालेका सहचालक लवेश्वर चौधरी सामान्य घाइते भए । बमको आगोले राजु र हरि निकै जले । स्थानीय र प्रहरीले उद्धार गरी उनीहरूलाई वीरगन्ज पु¥याइयो । सोही राति नै थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएका राजु आइतबार बिहान मृत घोषित भए । गम्भीर घाइते हरिको उपचार भइरहेको छ ।
राजु गम्भीर भएको खबरले अत्तालिँदै श्रीमती सम्झना सिन्धुली माइतीघरबाट अस्पताल पुगे पनि जन्म दिने आमाबुबा र आफ्ना दुई सन्तानले भने उनलाई देख्नसमेत पाएनन् । राति अबेरसम्म राजमार्गमा बस कुरेर फर्किएका उनीहरूले हवाई जहाजको टिकटसमेत नपाएपछि पीडामाथि निरासा थपियो । उनको शव निकै गलेको भन्दै काठमाडौँमा नै आइतवार नै अन्त्येष्टि गरिएको छ ।
सानो उमेरबाट नै चालक बन्ने सपना बोकेर हिँडेका राजुले यही पेशामा लामो समय खर्चेका थिए । आफ्नै मेहनतले प्रगति गर्दै गरेका उनको मृत्युले देउजा परिवारले अभिभावक गुमाएको छ । १२ वर्षकी छोरी र १० वर्षीय छोराका पिता राजुको मृत्युबाट निजगढ शोकमा डुबेको छ । शनिवार मात्र चार पटक छोरासँग कुरा गरेकी राजुकी आमा चिनीमायाले बिहान छोरो गुमाएको समाचार सुनिन् । मेरो उपचार भइरहेको छ, म चाँडै निको हुन्छु भनेर पटक पटक कुरा गरेको छोराको मृत्युको खबरले उनका आँखामा आँशु रोकिएको छैन ।
साना नाती नातिना टुहुरा भएपछि उनीहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता हजुरआमालाई छ । राजुका बुबा देव तामाङले सरकारले गर्न लागेको निर्वाचनको विरोधमा भएको बन्दको क्रममा सवारी चलाएर मारिएका छोरालाई राज्यले सहिदसरह सम्मान दिनुपर्ने माग गरेका छन् ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा बाराका विभिन्न स्थानमा बम राखेर आतङ्क सृजना गर्ने काम भइरहेको छ । जनता भाग्य र भविष्य कोर्ने संविधानसभाको निर्वाचनको विरोधमा भएका बहिस्कारवादी आन्दोलन हिंस्रक हुँदै गइरहेको पछिल्लो प्रमाण राजुको घटनाले पुष्टि गरेको छ ।
वैद्य माओवादी कार्यकर्ताको पेट्रोल बम प्रहारबाट बारामा गम्भीर घाइते भएका ट्रक चालकको उपचारको क्रममा काठमाण्डुमा मृत्यु भएको छ । बम लागि घाइते भएका ना ३ ख ५६९७ नम्बरको ट्रक चालक राजकुमार देउजा क्षेत्रीको आइतबार बिहान शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत विहीबार पथलैया–निजगढ सडखण्ड अन्तर्गत दुधौरा खोलानजिक ट्रक रोकेर माओवादी कार्यकर्ताले पेट्रोल बम प्रहार गर्दा चालक देउजा सहित तीनजना घाइते भएका थिए । गम्भीर घाइते देउजालाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि गत शुक्रबार काठमाण्डु ल्याइएको थियो । उनको पुरै शरिर जलेको थियो ।

चितवनमा बम प्रहार हुँदा ट्याङ्कर चालक घाइते

यसैबीच चितवनको भरतपुरमा पानी बोकेको बा १ ख ९५५४ नम्बरको ट्याङ्करमा माओवादी कार्यकर्ताले पेट्रोल बम प्रहार गर्दा चालक घाइते भएका छन् । उनको शरिर जलेको छ । घाइते चालकको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

मोटरसाइकलको नम्बरप्लेट छोपेर आएका दुईजना व्यक्तिले गुडिरहेको ट्याङ्करमा दुईवटा पेट्रोल बम हानेर भागेका थिए । बम लागेर चालक बस्ने स्थान जलेको छ । बम लागेपछि चालक गाडिबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us