अन्तिम दिनको चुनाव प्रचारमा नेताहरु व्यस्त

काठमाण्डु टुडे २०७० मंसिर १ गते ६:१५ मा प्रकाशित

Nepali-Leadersकाठमाण्डु, १ मंसिर– संविधानसभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन शनिबार राजनीतिक दलका नेताहरु व्यस्त भएका छन् । निर्वाचन आचार संहिता अनुसार मतदानको ४८ घण्टा अघिदेखि प्रचार प्रसार गर्न नपाइने भएकाले दलहरु अन्तिम प्रचारमा व्यस्त भएका हुन् । प्रचार प्रसार गर्न नपाइने यो समयलाई ‘शून्य समय’ भनिन्छ ।

उम्मेदवारी रद्द हुन सक्ने

राजनीतिक दलले शनिबार मध्य रातिदेखि चुनाव प्रचार प्रसार गर्न पाउने छैनन् भने सन्चार माध्यमबाट पनि प्रचार सामग्री प्रकाशन र प्रसारण गर्ने पाइने छैन । आचार संहिता उल्लंघन गरे नियमअनुसार कारवाही गर्ने आयोगले जनाएको छ । आचार संहिता पालना नगरे उम्मेदवारहरुको उम्मेदवारी रद्धसमेत गर्न सकिने आयोगका प्रवक्ता बीर बहादुर राईले जानकारी दिए ।

शीर्ष नेताको व्यस्तता

अन्तिम प्रचारकालागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त छन् । उनी बिभिन्न जिल्लाका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुदैछन् । आफूले उम्मेदवारी दिएको काठमाण्डु क्षेत्र नम्बर १० र सिरहाका विभिन्न कार्यक्रममा उनी सहभागी हुदैछन् । यसैगरी सिन्धुली, सिन्धुपाल्चोक र पर्साका चुनावी कार्यक्रमलाई पनि प्रचण्डले सम्वोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

यसैगरी एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई रुपन्देही क्षेत्रनम्बर ४ को पर्रोहा र मोतीपुर गाविसमा व्यस्त हुदैछन् । अर्का नेता नाराणकाजी श्रेष्ठ पनि आफ्नो निर्वाचन क्षेत्रमा अन्तिम चुनाव प्रचारमा व्यस्त छन् ।

काँग्रेस सभापति सुशील कोइरालाले सुर्खेतको सभालाई सम्वोधन गरी आफ्नो निर्वाचन क्षेत्र बाँकेका मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । बरिष्ठ नेता शेर बहादुर देउवाले डडेलधुरामा हुने चुनावी सभालाई सम्वोधन गर्ने र कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरकृया गर्ने कार्यक्रम छ । यसैगरी तनहुँ क्षेत्रनम्बर २ मा काँग्रेस उपसभापति रामचन्द्र पौडेलको व्यस्तता पनि उत्तिकै बढेको छ ।

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो गृह जिल्ला इलामको फिक्कलमा हुने सभालाई सम्वोधन गरी कार्यकर्ता भेटघाट गर्ने कार्यसूची छ । यस्तै एमाले बरिष्ठ नेता माधव नेपाल काठमाण्डुका चुनावी सभालाई सम्वोधन गर्ने र मोटरसाइकल र्याली लगायत कार्यक्रममा सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६ हजार १ सय २८ उम्मेदवार चुनावी मैदानमा छन् । १ करोड २१ लख ४७ हजार ८ सय ६५ मतदाताका लागि १८ हजार ४ सय ५६ मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनको सुरक्षाका लागि २ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने २ लाख १५ हजार कर्मचारी खटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us