
काठमाण्डु, १४ कात्तिक–संविधानसभा निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादीका वरिष्ठ नेता पराजित गराउन आफू अनुकुलका उम्मेदवारका पक्षमा मतदान गर्न सर्कुलर जारी गरेको खुलासा भएको छ ।
नेकपा–माओवादी एक केन्द्रीय सदस्यका अनुसार काठमाण्डु–१० मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उम्मेदवारी दिएका पदम कुँवरका पक्षमा मतदान गर्न वैद्य नेतृत्वको माओवादीले सर्कुलर जारी गरेको छ । माओवादी कार्यकर्ताका भाई कुँवरले प्रचण्डलाई हराउने भन्दै काठमाण्डु–१० मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पदमलाई जस्तै अरु क्षेत्रमा पनि चुनावी समीकरणमा सहयोग पुर्याउने सर्कुलर नेकपा–माओवादी हेर्डक्वटारले जारी गरेको छ ।
पदमले गत वर्ष दसैं, तिहार, छठ र नेपाल सम्वतका अवसरमा एकीकृत माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डमाथि दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारपछि पक्राउ परेका कुँवरलाई प्रचण्डले नै मुद्दा नलगाउन आग्रह गरेपछि प्रहरीले छाडेको थियो ।
वैद्य माओवादीले पदम कुँवरको पक्षमा तीन हजारभन्दा बढी मत ल्याउने वातावरण बनाउँदा प्रचण्ड पराजित हुने विश्लेषण गरेको छ । यसैका आधारमा केन्द्रबाट सर्कुलर जारी गरेको हो । हिरासतबाट छुटेलगत्तै उनलाई वैद्य माओवादीले फूलमाला लगाएर सहर परिक्रमा गराएको थियो ।
स्रोतका अनुसार कुँवरलाई चुनाव प्रचार खर्चको व्यवस्था पनि वैद्य माओवादीले गरिदिएको छ । पछि उनी आफै नेकपा–माओवादी प्रवेश गरेका थिए । प्रचण्डलाई हराउने र कुँवरका पक्षमा बढी मत खसाल्ने कामको जिम्मा ललितपुर जिल्ला सचिव एवम् कीर्तिपुरका स्थायी बासिन्दा विष्णु महर्जनलाई जिम्मेवारी दिइएको छ ।
उनी वैद्य माओवादीका महासचिव रामबहादुर थापाका पूर्वस्वकीय सचिव हुन् । महर्जनले केही दिनअघि कीर्तिपुरमा प्रचण्डको पोष्टर च्यात्ने कामको नेतृत्व गरेका थिए ।
निर्वाचन प्रक्रियाको अगुवाई गरेका सबै दलका प्रमुख नेता गएको जिल्ला बन्द गर्ने घोषणा गरेको भए पनि वैद्य माओवादीले एमाओवादीलाई केन्द्रित गर्ने नीतिअनुसार प्रचण्ड पुगेको जिल्लामा मात्र बन्द आह्वान गर्दै आएको छ ।
यस्तै वैद्य माओवादीले नेता डा.बाबुराम भट्टराईले उम्मेदवारी दिएको गोरखा–१ र रुपन्देही–४ मा एमाले उम्मेदवारका पक्षमा मतदान गर्न सर्कुलर जारी गरेको छ । एमालेले गोरखा–१ मा रामशरण बस्नेत र रुपन्देही–४ मा सचिव विष्णु पौडेललाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष झलनाथ खनालले बुधवार इलाममा नेकपा–माओवादीले आफनो पक्षमा मतदान गर्ने आशा व्यक्त गरेका थिए ।
बैद्य नेतृत्वको माओवादीले एमाओवादी नेता नारायणकाजी श्रेष्ठले उम्मेदवार दिएको मकवानपुर–२ मा काग्रेस उम्मेदवार जयराम लामिछानेलाई मतदान गर्ने सो पार्टीले योजना बनाएको छ । रोल्पा–१मा कृष्णबहादुर महरालाई पराजित गराउन काग्रेसका लेखनाथ आचार्य र एमालेका हितबहादुर रोकामगरलाई मतदान गराउने योजना बनाएका छन ।
सो पार्टीले बर्दिया–१ मा एकीकृत माओवादीका उम्मेदवार भुवन थारुलाई पराजित गराउन एमाले उपाध्यक्ष बामदेव गौतमको पक्षमा मतदान गर्ने योजना बनाएको छ । गौतमलाई बर्दियामा सो पार्टीका कार्यकर्ताले माला लगाएर स्वागत गरेका थिए । नुवाकोट–३ मा एमाओवादी नेता पोष्टबहादुर बोगटीलाई पराजित गराउन बैद्य नेतृत्वको माओवादीले एमालेका उम्मेदवार नारायण खतिवडाका पक्षमा मतदान गर्ने योजना बनाएको छ ।
एकीकृत माओवादीको उम्मेदवार पराजित गराएर आफना बरिष्ठ नेता जिताउन काग्रेस र एमालेले यसअघि नै गठबन्धन बनाइसकेका छन । काठमाण्डु–२ मा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई जिताउन काग्रेसले कमजोर उम्मेदवारका रुपमा प्रतिमा गौतमलाई उम्मेदवार बनाएको छ । वैद्य नेतृत्वको माओवादीले एमाओवादी नेता लिलामणि पोखरेललाई पराजित गराउन एमाले नेता माधव नेपालको पक्षमा मतदान गर्ने योजना बनाएको छ ।
निर्वाचन बहिस्कारको सोझो अर्थ आफू मतदानमा सहभागी नहुनु, अरुलाई मतदान गर्न रोक्नु भन्ने लाग्छ । तर बैद्य नेतृत्वको पार्टीको केन्द्रीय समितिको निर्णय विपरित व्यक्तिगत ‘इगो’ साध्न यस्तो रणनीति बनाएको बुझिएको छ ।
एकीकृत माओवादीलाई कमजोर नबनाइ आफनो राजनीतिक अस्तित्व जोगाइराख्न नसकिने निष्कर्षका आधारमा सो पार्टीका नेताहरुले त्यस्तो रणनीति बनाएका हुन । सो पार्टीका नेताहरुले त्यस्तो रणनीति बनाए पनि अधिकाश कार्यकर्ताले मतदाता सूचीमा नाम नै लेखाएका छैनन ।