नेताहरु काठमाण्डु केन्द्रित हुँदा गाउँमा चुनावी चहलपहल शून्य

काठमाण्डु टुडे २०७० असोज १३ गते ९:२४ मा प्रकाशित

जाजरकोट- सभा न जुलुस, न त नेताहरु नै गाउँ  छिरेका छन् । राजधानी र जिल्ला सदरमुकाममा चुनावी बहस र रौनक बढ्न थाले पनि ग्रामीण क्षेत्रमा भने चुनावको jaajrkotमिति डेढ महिना बाँकी हुँदा पनि कुनै चहलपहल छैन ।
चुनाव हुन केही हप्तामात्र बाँकी हुँदासमेत ठूला राजनीतिक दलका नेता तथा कार्यकर्ता गाउँ नफर्कंदा गाउँमा निर्वाचनको वातावरण बन्न नसकेको हो । ग्रामीण क्षेत्रमा चुनावसम्बन्धी कुनै गतिविधि सञ्चालन नहुँदा चुनाव हुन्छ कि हुँदैन भन्ने ग्रामीण बासिन्दाको आशङ्कालाई झन् बल पुर्याएको छ ।
नागरिक अगुवा राजेन्द्र शाहले भन्नुहुन्छ– निर्वाचनको मिति नजिकिँदै जाँदासमेत ठूला राजनीतिक दलका नेता कार्यकर्ता गाउँ नफर्कंदा ग्रमीण क्षेत्रमा निर्वाचनको वातावरण बन्न नसकेको हो । बारेकोटस्थित वीरेन्द्र ऐश्वर्य उच्च माविका अध्यक्ष नरबहादुर गिरीले विगतको अवस्थालाई हेर्दा नेताहरुले चुनाव गरेर देशमा नयाँ संविधान दिन्छन् भन्नेमा सर्वसाधारण रत्तिभर विश्वस्त हुन नसकेको बताए ।

यो मुद्दाविहीन निर्वाचनजस्तो भएको छ खगेनकोट गाविसका पूर्वअध्यक्षा हीरालाल खत्रीले भने, सर्वसाधारणमा उत्साह नदेखिनुको प्रमुख कारण दलहरुप्रति जनताको गुम्दै गएको विश्वास हो । विघटित संविधानसभामा दलका नेताहरुले गरेका क्रियाकलापले पनि जनतालाई निर्वाचन गरेर संविधान बनाउलान् भन्नेमा आशा नभएको उनले बताए ।  विकास चुनावी मुद्दा बन्नुपर्ने बेलामा फेरि पुरानै कुरा लिएर राजनीतिक कार्यकर्ताहरु चुनावमा जान सकिरहेका छैनन् खत्रीले भने, अब नेताहरु गाउँ पुगेर आश्वस्त पारेमात्र चुनावी चहलपहल सुरु हुन सक्छ । ठूला राजनीतिक दल काँग्रेस, माओवादी र एमालेलगायतले अहिलेसम्म पनि ग्रामीण क्षेत्रमा निर्वाचनका विषयमा जनतालाई आश्वस्त पार्न नसकेको नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले बताए ।

दलका नेता कार्यकर्ताहरु काठमाडौँमै छन् उहाँले भने, गाउँमा चुनावी वातावरण कसरी बन्न सक्छ ? उनले टिकटको दौडधूपमा लागेका नेता–कार्यकर्ताहरु गाउँ नफर्केसम्म चुनावी चहलपहल नबढ्ने बताए । अर्कोतिर वैद्य माओवादीका नेता तथा कार्यक्रर्ताहरु गाउँगाउँमा गएर चुनावमा सहभागी नहुन उर्दी जारी गरिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us