एमाले माओवादी ब्युँताउने निर्णय सच्याउन माग गर्दै अदालतमा मुद्दा पर्ने, अदालतले गम्भीर त्रुटि गरेको खुलासा

काठमाण्डु टुडे २०७७ फागुन २३ गते २२:४५ मा प्रकाशित

काठमाण्डु, २३ फागुन– नेकपाको प्रचण्ड–नेपाल समूह आफ्नो दल नेकपा खारेज गर्ने अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ नेताहरुले गरेको छलफलमा वरिष्ठ अधिवक्ताहरुले मुद्दा पुनरावलोकनमा जान आदेश सुझाव दिएका हुन् । त्यस क्रममा उनीहरुले रिट निवेदक ऋषि कट्टेलले माग दाबी नै नगरेको विषयमा फैसला गरेकोबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । कट्टेलले निर्वाचन आयोगले आफ्नो दलसँग मिल्दोजुल्दो नेकपा नामको अर्को दल दर्ता गरेको भन्दै अदालतमा रिट दायर गरेकामा अदालतले त्यसभन्दा बाहिर गएर नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गरेको उनीहरुको भनाइ थियो ।

छलफलपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेताहरुलाई पुनरावलोकनमा जान सुझाव दिएको जानकारी दिए । ‘हामीले पुनरावलोकनमा जान सुझाव दिएका छौं’, छलफलपछि भट्टराईले भने । अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले रिट निवदेक कट्टेलले नेकपा एकीकरण खारेज गर्ने माग दाबी नै नगरे पनि अदालतले राजनीतिक प्रेरित निर्णय गरेको बताए । ‘रिट निवेदकले नेकपाको आधिकारिकताको विषय मात्र माग गरेका हुन्’, प्रधानले भने, ‘अदालतले राजनीतिक निर्णय गरेको छ, यो फैसला कार्यान्वयन हुन सक्दैन ।’

छलफलमा नेकपा–प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा कानून व्यवसायीबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, मुक्तिनारायण प्रधान लगायत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us