माओवादी जाउन, एमाले एक बनाएर पाँच वर्ष सरकार चलाउँछुः ओली

काठमाण्डु टुडे २०७७ फागुन २३ गते २२:०५ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएका छन् ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएकालेसाविक एमालेको बैठक बोलाउने उनले बताए । ओलीले अदालतले कट्टेललाई नेकपा दिएसँगै राजनीति सही दिशामा सोझिएको जिकिर गरे ।

‘अदालतको फैसलाले राजनीतिलाई सही दिशामा लैजान मद्दत गरेको छ’, बालुवाटारमा आइतबार साँझ बसेको आफ्नो समूहका सांसदहरुको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अब नेकपा एमालेको बैठक बोलाउँछु ।’ ओलीले अदालतको फैसलासँगै आफ्नो नेतृत्वको सरकार संयुक्त सरकारमा परिणत भएको दाबी गरे ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि केही फरक नपर्ने उनको भनाइ थियो । एक महिनाभित्र विश्वासको मत लिने र पाँच वर्ष आफैं प्रधानमन्त्री रहने उनले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us