घनश्याम भुसालको प्रस्ताव शंकर पोखरेलमार्फत ओलीसम्म पुग्यो

काठमाण्डु टुडे २०७७ फागुन २१ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, २१ फागुन- दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।

दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’

दोस्रो पुस्ताका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न पर्दापछाडि गरेको पहल भने देखिएको दृश्यभन्दा अलि फरक छ तर अहिलेसम्म पहलभन्दा अगाडि बढ्न सकेको छैन । बिहीबार बिहान प्रधानमन्त्री ओली, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र शंकर पोखरेलबीच बालुवाटारमा भलाकुसारी भयो । भेटमा  पोखरेलले नेतृत्वको विकल्प खोजेर पार्टीलाई एकताबद्ध बनाउन सकिने प्रस्ताव अर्को पक्षका नेता घनश्याम भुसालले गरेको जानकारी प्रधानमन्त्रीलाई गराए ।  कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us