काँग्रेस पदाधिकारी बैठकः ओलीलाई हटाऔं, प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरौं

काठमाण्डु टुडे २०७७ फागुन २० गते २२:५१ मा प्रकाशित

काठमाण्डु, २० फागुन– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानीशलकण्ठमा बिहीबार बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पौडेलले मुलुकको राजनीतिक निकाशका लागि प्रचण्डलाई काँग्रेसले प्रधानमन्त्री स्वीकार गर्नुपर्ने बताए । पौडेलले गत ५ पुसमा प्रचण्ड–नेपाल पक्षले संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव पारित गर्न सघाउनुपर्ने उल्लेख गरेको एक नेताले जानकारी दिए । ‘अहिलेको राजनीतिक निकासका लागि काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर जानुपर्छ’, पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसअघि उहाँहरुले दर्ता गराउनुभएको अविश्वास प्रस्ताव पारित गर्न हामीले साथ दिनुपर्छ ।’

बैठकमा पौडेलसहित अधिकांश नेताले ओलीसँग नभई प्रचण्ड–नेपाल पक्षसँगको सहकार्यमा जोड दिएका थिए । सभापति शेरबहादुर देउवाले भने को प्रधानमन्त्री बन्ने भन्नेबारे टुंगोमा पुग्न अझै परिस्थिति परिपक्व नभएको भन्दै संसदीय दलमा सांसदहरुका धारणा बुझेर मात्र निर्णयमा पुग्न उपयुक्त हुने धारणा राखे । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई प्रधानमन्त्री पदले ढोका ढक्ढक्याइरहेको बताए । तर, काँग्रेसले संयमतापूर्वक झ्यालबाट हेरिरहेको टिप्पणी गरे ।

शर्माले पदाधिकारी बैठकले आगामी बाटोबारे करिब निस्कर्ष निकालेको भन्दै औपचारिक निर्णय भने शुक्रबारको संसदीय दल बैठकबाट लिइने जानकारी दिए । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेमा पार्टीभित्र सहमति भएको भन्दै उनले पुरानै अविश्वास प्रस्तावलाई समर्थन गर्ने वा अविश्वास प्रस्तावको नेतृत्व नै आफूहरुले गर्ने भन्नेबारे टुंगोमा पुग्न बाँकी रहेको उल्लेख गरे । ‘अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौं कि अगुवाई नै गरेर जान्छौ भन्नेबारे काँग्रेसले अपरिपक्व रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ’, शर्माले भने, गोल पोष्टभित्रै गोल गर्ने गरी ठीक ढंगले राख्छौं । पोलबाहिर गोल जान दिदैनौँ । भोलि (शुक्रबार) संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठीक समयमा ठीक निर्णय गर्छ ।’

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, राष्ट्रिय सभाका दल नेता राधेश्याम अधिकारी, डा. मिनेन्द्र रिजाल र प्रवक्ता शर्मा सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us