बास्तोलासहित विप्लवका चार नेतालाई तत्काल छाड्न गृहको सर्कुलर, छैन हेमन्त प्रकाश वलीको नाम

काठमाण्डु टुडे २०७७ फागुन २० गते २२:३० मा प्रकाशित

काठमाण्डु, २० फागुन– सरकारले थुनामा रहेका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बिहीबार सो समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको हो । सरकार र विप्लव समूहबीचको वार्तामा बिहीबार तीन बुँदे लिखित समझदारी भएको थियो । समझदारीमा सरकारले विप्लव समूहका थुनामा रहेका नेता कार्यकर्ता छाड्ने प्रतिबद्धता जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा थुनामा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई प्रक्रिया पुरा गरेर रिहा गर्न सर्कुलर जारी गरिएको जानकारी दिए । बुढाका अनुसार थुनामा रहेका धर्मेन्द्र बास्तोला, ओमप्रकाश पुन, माइला लामा र विप्लवका दाजु चन्द्रबहादुर चन्द लगायत नेता शुक्रबारै रिहा हुनेछन् ।

अन्यको हकमा भने क्रमशः दुई पक्षीय समन्वयमा रिहा गर्दै जाने प्रवक्ता बुढाले बताए । केन्द्रीय स्तरका नेतामध्ये मेहन्तप्रकाश वली ‘सुदर्शन’ को नाम भने रिहा हुनेको सूचीमा समावेश छैन । बम काण्डका आरोपी वली हाल नख्खु कारागारमा छन् । केही समयअघि खानेपानीमन्त्री मणि थापाले वलीसँग कारागारमै अनौपचारिक वार्ता गरेका थिए ।

सरकारले २०७५ साल फागुन २८ मा प्रतिबन्ध लगाएयता विप्लव समूहका दुई हजार बढी कार्यकर्ता पक्राउ परेका थिए । हाल देशभरका कारागार र हिरासतमा सो समूहका १ सय २६ जना छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us