निर्वाचन आयोग ओलीको लाचार छायाँ भयोः पुन

काठमाण्डु टुडे २०७७ माघ १२ गते १४:४३ मा प्रकाशित

बुटवल, १२ माघ– नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले निर्वाचन आयोग आफ्नो निर्णयबाट पन्छिएको man बताएका छन् ।
पुनले प्रचण्ड–नेपाल पक्षलाई पार्टी आधिकारिता र सूर्य चुनाव चिन्ह नदिएकामा आपत्ति जनाए । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमध्ये ७० प्रतिशतभन्दा बढीको समर्थन रहेको प्रचण्ड–नेपाल पक्ष नै नेकपाको मुलधार रहेको उनको भनाइ थियो । ‘४ सय ४१ मध्ये ७० प्रतिशतभन्दा बढी सदस्य रहेको पार्टीलाई आधिकारिता दिन केले रोक्यो ?’, बुटवलमा सोमबार आयोजित कार्यक्रममा पुनले भने, ‘निर्वाचन आयोगले आफ्नो जिम्मेवारीबाट पन्छिएर लाचारी प्रस्तुत गरेको छ ।’ कानून र ऐनअनुसार निर्णय दिनुपर्ने दायित्वबाट पछि हटेर आयोग सरकारको लाचार छायाँ बनेको आरोप पुनले लगाए । ‘सही निर्णय दिन नसक्नु आयोगको क्षमताको कमी र कार्यकारीको अगाडि लाचारी हो,’ उनले भने । पुनले प्रधानमन्त्री ओलीको स्वेच्छाचारी र निरंकुश शैलीका कारण पार्टी विभाजित भएको भन्दै आयोगले भन्दैमा नेकपा एक रहन नसक्ने स्पष्ट गरे । आफ्नो निरंकुश कदमप्रति आत्मालोचित हुँदै सुध्रिने बाचा गरे मात्र पार्टी एक हुने पुनको भनाइ थियो । ओलीले पाँच वर्षका पाएको जनमतको अपमान गर्नुका साथै मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएका विश्वास पुनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us