प्रचण्डले शिलान्यास गरेको पुल ओलीले उदघाटन गर्ने, शक्ति प्रदर्शनको तयारी

काठमाण्डु टुडे २०७७ माघ १२ गते ८:४९ मा प्रकाशित

दाङ, ११ माघ– प्रधानमन्त्री केपी ओलीले लुम्बिनी प्रदेशको राजधानी रहेको दाङस्थित राप्ती नदीमा नवनिर्मित पुलको शिलान्साय गर्ने भएका छन् ।

नेपालकै दोस्रो लामो पक्की पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ मा पुलको शिलान्यास गरेका थिए । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलको लम्बाई ८सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।

पुल उद्घाटनको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । एक अर्ब रुपैयाँ लागमा बनेको पुल निर्धारित समय चार वर्षभन्दा ६ महिना पहिल्यै निर्माण सम्पन्न भएको हो । पुल बनेसँगै देउखुरी उपत्यकाबासीलाई जोखिमपूर्ण ढुंगाको यात्रा गर्नुपर्ने बाध्यता टरेको छ ।

यसैबीच पुल उदघाटनमा ओली आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राप्ती गाउँपालिका–२ लालमटीयामा हुने कार्यक्रमलाई ओली समूहले शक्ति प्रदर्शनको माध्यम बनाउने तयारी गरेको छ । कार्यक्रममा ५० हजार कार्यकर्ता उतार्ने तयारी ओली समूहको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us