ओली साधारण सदस्यसमेत नरहने गरी निष्काशित

काठमाण्डु टुडे २०७७ माघ ११ गते २२:४७ मा प्रकाशित

काठमाण्डु, ११ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहले केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ ।

सो पक्षको आइतबार बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो । यसअघि ओलीलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने पत्र सुरेन्द्र पाण्डे लगायत नेताले बालुवाटार गेटमा छाडेर फर्किएका थिए ।

तीन दिनको समयसीमा तोकेरस लेखिएको पत्रमा पार्टी हित र अनुशासन तथा मुलुक, जनता र संविधानविरुद्धको कार्य गरेकाले साधारण सदस्यसमेत नरहने गरी किन नहटाउने भन्ने उल्लेख गरिएको थियो । तर, ओलीले स्पष्टीकरण बुझाएका थिएनन् ।

प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट भने ओलीलाई यसअघि नै हटाइसकेको छ ।
बैठकले गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय सचिव र मोहन गौतमलाई उप–सचिव नियुक्त गरेको छ । गौतम अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us