केपी ओलीको निर्देशनमा प्रचण्डको क्षेत्रमा पुल निर्माणको काम रोकियो !

काठमाण्डु टुडे २०७७ माघ ११ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, ११ माघ– सरकारले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा निर्माणाधीन पुलको निर्माणकार्य रोकेको छ ।

वन तथा वातावरणमन्त्री प्रेम ओलेको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जले पुल निर्माण रोक्न लिखित पत्राचार गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पुल निर्माण रोकिएको स्वीकार गरे । पुलको निर्माण रोक्नुको कारण उनले राजनीतिक नभएको दाबी गरे ।

वातावरणीय प्रभाव अध्ययन मूल्याङकन (आईई) नगरी पुल निर्माण रोकिएको उनले बताए । नेकपाको प्रचण्ड–नेपाल पक्षमा चितवन जिल्ला कार्यालय सदस्य रामभन्द्र अधिकारीले केपी ओलीको निर्देशनमा पुल निर्माणको काम रोकिएको आरोप लगाए ।

प्रचण्डसँगको रिसीइबीका कारण ओलीले चितवनका जनतासँग बदला लिन खोजेको उनको भनाइ छ । ‘विकास र समृद्धिका गफ हाँक्ने केपी ओलीकै निर्देशनमा पुल निर्माणको काम रोकिएको छ’, अधिकारीले काठमाण्डुटुडेसँग भने, ‘नेकपा विवादको बदला चितवनका जनतासँग लिने कोसिस भयो ।’ उनका अनुसार माडी क्षेत्रका विभिन्न खोलामा पुल निर्माण गर्ने प्रचण्डको चुनावी प्रतिबद्धता थियो । सोही अनुसार प्रचण्डको पहलमा केन्द्रीय योजनामा पुल निर्माणका लागि बजेट निकासा भएको उनको भनाइ छ ।

हुलाकी सडकखण्डअन्तर्गत भतरपुरबाट माडी हुँदै ठोरी जान विभिन्न खोलामा ११ वटा पुल टेण्डर प्रक्रिया सकेर धमाधम निर्माण हुँदै थिए । यसैबीच हुलाकी सडक आयोजना वीरगञ्जका प्रमुख दीपेन्द्र पाण्डेले निकुञ्जको रबैया गलत भएको बताए । उनले निकुञ्जले अनुमति दिएरै काम अघि बढाइएको जानकारी दिए । यसअघि काँग्रेस नेता रामचन्द्र पौडेललाई उनकै गृह जिल्ला तनहुँमा पुल उदघाटन गर्न जाँदा सरकारले नै रोकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us