विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण

काठमाण्डु टुडे २०७७ माघ ११ गते ८:११ मा प्रकाशित

काठमाण्डु, ११ माघ– वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल दर बढी भएपछि उक्त टेन्डरबाट प्राधिकरण बाहिरिएको हो ।

हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । भारतमा पनि सोही दरमा विद्युत् विक्री गर्ने गरि प्राधिकरणले बोलपत्र पेश गरेको थियो । तर, अन्य कम्पनीहरूले त्यो भन्दा पनि कम दरमा विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेपछि प्राधिकरण बाहिरिएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रस्ताववित विद्युत् महसुलदर अन्यको तुलनामा बढी भएपछि प्रतिस्पर्धाबाट बाहिरिएको पुष्टि गरे ।

‘हामीले जुन दरमा विद्युत् उपलब्ध गराउँछौं भनेका थियौं । त्यो भन्दा पनि सस्तो दरमा नै विद्युत् उपलब्ध गराउने गरी अन्य कम्पनीहरूले बोलपत्र पेश गरेका रहेछन्,’ उनले भने, ‘यसरी हामीले प्रस्ताव गरेको महसुलदर बढी भएपछि उक्त प्रतिस्पर्धाबाट बाहिरिनुप–यो ।’ आर्थिक अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us