वैशाखका लागि घोषित चुनाव मंसिरमा सार्ने तयारी

काठमाण्डु टुडे २०७७ माघ ९ गते ८:३१ मा प्रकाशित

काठमाण्डु, ९ माघ– प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घोषित मध्यावधि निर्वाचन मिति सार्ने तयारी गरेका छन् ।

विविध कारणले वैशाखमा निर्वाचन नहुने लक्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मंसिरका लागि अर्को चुनावको मिति घोषणा गर्ने गृहकार्य भइरहेको छ ।

प्रतिनिधिसभा विटघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा, निर्वाचन आयोगमा नेकपाका दुई समूहमध्ये कसलाई आधिकारिता दिने भन्नेबारे देखिएको अन्यौल, ओली समूहबाहेक सबै दल र नागरिक समाजले आन्दोलन घोषणा गरेको र आर्थिक अभावलाई बहाना बनाएर निर्वाचन मिति सार्ने तयारी भएको हो । ‘विविध कारणले वैशाखमा निर्वाचन हुने देखिँदैन’, ती मन्त्रीले काठमाण्डुटुडेसँग भने, ‘अब मंसिरमा गर्ने गरी अर्को मिति घोषणा हुन्छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएको भन्दै गत ५ पुसमा प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचन घोषणाका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले संसद विघटनको सिफारिस सोही दिन सिदर गर्दै १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।

नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालगायत दलले ओलीले निर्वाचन गर्नका लागि नभई सत्ता लम्ब्याउन मात्र निर्वाचन घोषणा गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको आरोपलाई नै पुष्टि गर्ने गरी निर्वाचन मिति परिवर्तन गर्ने तयारी भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us