प्रचण्डलाई फकाउँदै ओली

काठमाण्डु टुडे २०७७ मंसिर २० गते १०:२० मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, २० मंसिर– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षका नेताहरूको दौडधुप चलेको छ ।

पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो । कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर नयाँ प्रकारको सहमतिको बिन्दु खोज्न ओली पक्षका नेताहरूले आग्रह गरे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मानेका छैनन् । राजनीतिक भवष्यमाथि नै दाग लाग्ने गरी दाहालले ओलीविरुद्ध आलोचनात्मक प्रस्ताव राखेपछि ओलीले पनि मंसिर १३ गते त्यसको लिखित प्रत्युत्तर फर्काएका थिए । त्यसपछि झनै चिढिएका दाहालले आफ्नो प्रस्ताव पार्टीको कमिटीमा छलफल गराउने र त्यसलाई पास गराएरै छाड्ने अडान लिएपछि ओली समूहका नेताहरूले त्यसलाई फिर्ता गराएर संयुक्त दस्तावेज प्रस्तुत गर्नुपर्ने बताउँदै आएका छन् ।

मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताहरूले पटकपटक भेटर छलफल गरे पनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन । ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ दाहालले भनेका थिए । तर ओली पक्ष केही दिन बैठक सारेर भए पनि सहमतिको आधार खोज्ने क्रममा रहेको जनाइएको छ । दाहालले राखेको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेजको पक्षमा ओली पक्ष रहेको छ ।

बिहीबार र शुक्रबार दुई दिन नै ओली पक्षका नेताहरूले संयुक्त दस्तावेज नआए पार्टी एकता धरापमा पर्ने भएकाले कात्तिक २८ गते प्रस्तुत गरिएको प्रस्ताव फिर्ता गरी नयाँ दस्तावेज ल्याउन र त्यसका लागि केही दिन बैठक पर सार्न आग्रह गरेका छन् । तर दाहाल आफूले राखेको प्रस्ताव फिर्ता गर्ने सोचमा नदेखिएपछि सहमतिको अर्को आधार नभएको भन्न थालिएको छ । महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष दाहालसँग भेटघाट गरी मनाउने प्रयास गरेका थिए । साथै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले खुमलटार पुगेर दाहाललाई मनाउने कोसिस गरेका थिए । तर दाहालले अडान छाडेका छैनन् ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us