अन्ततः गले ओली, भदौ २६ को निर्णय कार्यान्वयन गर्न तयार

काठमाण्डु टुडे २०७७ मंसिर १३ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आफूमाथि संगीन आरोपसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् ।

पार्टी सचिवालयको शनिबारको बैठकमा प्रचण्डको प्रस्तावको जवाफी प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सहमतिमै पार्टी विवाद समाधान गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले गत २६ भदौमा स्थायी समितिले गरेको निर्णय मान्न आफू तयार रहेको बताए । ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले आफूमाथि लगाएका आरोप गलत भन्दै खारेज गरिएको उल्लेख गरे ।

पार्टीमा कोही बहुमत र कोही अल्पमतमा नरेहको दाबी पनि उनले गरे । महाधिवेशनबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो बनाउन नहुनजे तर्क ओलीको छ । ओली नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा छन् ।

ओलीले प्रचण्डको प्रस्तावलाई नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको संज्ञा दिएका छन् । पार्टीका बैठकलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कूण्ठामा अल्मल्याइरहने छुट कसैलाई नभएको चेतावनी ओलीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us