पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने: मन्त्री नेम्वाङ

काठमाण्डु टुडे २०७७ मंसिर १२ गते १८:२० मा प्रकाशित

पाँचथर, १२ मङ्सिर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताएका छन् ।

सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा नेता नेम्वाङले नेकपाका लागि एकताबाहेकको विकल्प नरहेकाले एकता प्रक्रिया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशानुसार सरकार र पार्टी अघि बढ्ने बताए ।

राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भएकाले नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उनको भनाइ थियो । पछिल्लो दुई सातामा जिल्लामा ११ कार्यक्रममा सहभागी भएका मन्त्री नेम्वाङले स्थानीयस्तरका विकासनिर्माणका कामलाई द्रुत र प्रभावकारी बनाउन विशेष जोड दिइने बताए ।

उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित मुख्य सडक तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताए । उनले सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्र, फिदिमस्थित खेल मैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, सघन उपचार कक्ष र अक्सिजन प्लान्ट स्थापना कार्य द्रुत बनाउन निर्देशन दिइएको जानकारी दिए ।-रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us