बारामा प्रहरीले चलायो १२ राउण्ड गोली, तीन प्रहरी र एक बालक घाइते

काठमाण्डु टुडे २०७७ कार्तिक १३ गते १०:०६ मा प्रकाशित

बारा, १३ कात्तिक– बाराको सुवर्णपुर गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडपमा हुँदा गोली चलेको छ ।

प्रहरीले गोली लागी स्थानीय १४ वर्षीय रञ्जन यादव गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । भारतबाट तस्करीको प्याज ल्याएको सूचना पाएपछि गएको प्रहरी टोली र स्थानीयबीच सुवर्णपुरको कवहीगोठ भन्ने स्थानमा हानाहान भएको थियो ।

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । भारतले रोकेपछि नेपालतर्फ प्याजको तस्करी बढेको छ ।  स्थानीयहरु तस्करसँग मिलेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । बारा प्रहरी प्रमुख एस्पी कृष्ण पंगेनीले घटनामा प्रहरीतर्फ नायब निरीक्षक वीरेन्द्र गिरीसहित तीन घाइते भएको जानकारी दिए ।

घाइतेको कलैया अस्पतालमा उपचार भइरहेको उनले बताए । पंगेनीले तस्कर समूह जाइलागेपछि आत्मसुरक्षाका लागि प्रहरीले प्रतिकार गरेको बताए । घटनामा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us