बालुवाटारमा दसैंको टीका कार्यक्रम नराख्नूः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७७ कार्तिक १० गते ९:०१ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– प्रधानमन्त्री केपी ओलीले विगतमा भन्दा फरक तरिकाले दसैं मनाउन स्वदेश तथा विदेशमा रहेका नेपालीमा अपिल गरेका छन् ।

बडा दसैंका अवसरमा सोमबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको विषम परिस्थितिमा मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न आग्रह गरेका छन् । यस्तै ओलीले संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादसैं’ को सार्वजनिक टीका कार्यक्रम नराख्न निर्देशन दिइएको पनि उल्लेख गरेका छन् ।

ओलीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको भन्दै ओलीले यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दशैं मनाउन प्रधानमन्त्रीको आग्रह छ । ओलीले आफू रहेकै स्थानमा बसेर दसैं मनाउन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us