दसैं कोरोना फैलने माध्यम नबनोसः उपराष्ट्रपति

काठमाण्डु टुडे २०७७ कार्तिक १० गते ८:५२ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– उपराष्ट्रपति नन्दबहादुर पुनले बडा दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना ज्ञापन गरेका छन् ।

सोमबार एक सन्देश जारी गर्दैै उपराष्ट्रपति पुनले दसैंलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन आग्रह गरेका छन् । स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिएर दसैं मनाउन उनको अपिल छ । कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले आफू रहेकै स्थानमा बसेर बसेर मनाउनेमा आफू विश्वस्त रहेको विश्वास उपराष्ट्रपतिले व्यक्त गरेका छन् ।

देशमा कोरोना सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपतिले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् । यस्तै उनले दशैँका बेलासमेत कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा व्यक्त गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे पनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय सङ्क्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्य अवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us