जनतामा लोकप्रिय नुवाकोटका सिडिओ हटाउन मेयर पण्डित सक्रिय

काठमाण्डु टुडे २०७७ असोज २४ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, २४ असोज- राम्रो काम गरेको भन्दै सर्वसाधारण र सार्वजनिक सञ्चार माध्यमबाट प्रशंसा पाएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंक ढकाललाई हटाउन चलखेल तीव्र भएको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नेकपाका संघ र प्रदेश सांसदहरुको समेत सहयोगमा प्रजिअ ढकाललाई हटाएर आफू अनुकुलका सिडिओ ल्याउन चलखेल गरेका हुन् । त्यसका लागि सिडिओको अपराध भनेको पण्डित आफैं प्रत्यक्ष परोक्ष रुपमा संलग्न अवैध क्रसर उद्योग बन्द गराउनु हो । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ढकालले तादी खोलामा सञ्चालित पाँच क्रसर उद्योग गत असोज पहिलो साता बन्द गराएका थिए । क्रसर बन्द भएपछि आक्रोशित मेयर पण्डितले सार्वजनिक रुपमै सिडिओलाई एक घण्टामै सरुवा गरिदिने धम्की दिएका थिए । पण्डितको समूह सिडिओ हटाउने भन्दै नेकपाका शीर्ष नेताको घरघरसम्म पुगेर भर्खरै जिल्ला फर्किएको छ ।

उनीहरुले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितलाई भेटेर जसरी भए पनि ढकाललाई सिडिओबाट हटाउन भूमिका खेलिदिन आग्रह गरेका छन् । पण्डितको समूहले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर सिडिओलाई मन्त्रालय तान्न आग्रह गर्ने योजना बनाएको थियो । तर, अवैध व्यापारमा धक्का लागेपछि पण्डित टोली सिडिओविरुद्ध उत्रिएको पत्ता लागेपछि गृहमन्त्रीले भेट्न मानेनन् । तर, सिडिओ ढकालेको पक्षमा भने जबर्जस्त जनमत देखिएको छ ।

नुवाकोटका पत्रकार रामहरि न्यौपानेले ढकालजत्तिको बोल्ड सिडिओ अहिलेसम्म जिल्लाले नपाएको बताए । राम्रो काम गरेका कारण जताततै सिडिओको प्रशंसा भइरहेको न्यौपानेले उल्लेख गरे । सिडिओ हटाउनुपर्ने कारणबारे प्रश्न गर्दा विदुरका मेयर पण्डितले राजनीतिक दलसँग समन्वय नगरेको आरोप लगाए । तर, पत्रकार न्यौपाने  भने मेयरको आरोप गलत भएको बताउँछन् । के विषयमा सिडिओबाट समन्वय भएन भन्दा क्रसर उद्योग चलाउन दिएनन् भन्ने जवाफ आउने गरेको उनको भनाइ छ ।

जनताको काम गर्न समन्वय भएको तर, नेताहरुका लगानीमा सञ्चालित अवैध क्रसर चलाउन सिडिओ बाधक बनेको न्यौपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us