कस–कसलाई मन्त्रीबाट हटाउन चाहन्छन् प्रधानमन्त्री ओली ?

काठमाण्डु टुडे २०७७ असोज ४ गते २२:४२ मा प्रकाशित

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् ।

सत्तारुढ नेकपाको आइतबार बसेको सचिवालय बैठकमा ओलीले तीन विकल्पसहित मन्त्रिमण्डल पुनर्गठनको प्रस्ताव राखेका हुन् ।  तत्कालीन माओवादी केन्द्रको मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा ओलीले अहिलेका सबै मन्त्री हटाउने र नयाँ नियुक्त गर्न, सुरुमा मन्त्री भएकालाई बिदा गर्ने र पछि थपिएकालाई निरन्तरता दिने वा कार्यक्षमता कमजोर भएका मन्त्रीलाई हटाएर बाँकीलाई राख्ने विकल्प ओलीले सुनाएका थिए ।

एक नेताका अनुसार ओलीले त्यसमा अरु नेताको सुझाव मागेका थिए । तर, बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सबै मन्त्री हटाउन नहुने धारणा राखेका छन् । श्रोतका अनुसार कार्यक्षमता राम्रो भएका मन्त्रीहरुलाई निरन्तरता दिनुपर्ने मत प्रचण्डको थियो । ‘राम्रो गरिरहेका मन्त्रीहरुलाई निरन्तरता दिएर बाँकीलाई हटाउँदा हुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने । प्रचण्डको भनाइमा माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सहमति जनाएका थिए । श्रोतका अनुसार प्रधानमन्त्री ओलीको चाहना पनि सबै मन्त्री नहटाउने छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठनबारे पार्टीमा सैद्धान्तिक बहसले प्रवेश पाएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us