शैक्षिक क्षेत्र चलायमान बन्न थाल्यो, त्रिविको निर्णय अर्को साता

काठमाण्डु टुडे २०७७ असोज २ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, २ असोज– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ ।

विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।

विद्यार्थीको हातमा पुस्तक
विद्यालय तहमा अध्ययन गर्ने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी जनक शिक्षा सामग्री लिमिटेडका महाप्रबन्धक महेश तिमिल्सिनाले गरे । यस वर्षको शैक्षिक सत्रको सबै पाठ्यपुस्तकको बिक्री वितरण भइसकेको छ । गत असारसम्म एक करोड ६० लाख थान पुस्तक बिक्री भइसकेका छन् । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक भने निजीले छापेको थियो । कक्षा कोठामा विद्यार्थीको पठनपाठन नचले पनि सबै विद्यार्थीकहाँ पुस्तक पुगेको महाप्रबन्धक तिमिल्सिनाले बताए ।

सरकारले चालू शैक्षिक सत्र वैशाखबाटै सुरु भएको र चैतभित्र पूरा गरिने प्रतिबद्धता जनाइसकेको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैतभित्रै शैक्षिक सत्र पूरा गरिने घोषणा गरिसकेका छन् ।

त्रिविको निर्णय अर्को साता
यसैबीच त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने जानकारी दिए । पदाधिकारीको बैठकबाट यसको निधो गरिनेछ । वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उनले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताए । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us