ओलीले एमाले ब्युँताए प्रचण्डलाई रातो कार्पेट बिच्छ्याएर माओवादीमा स्वागत गर्छुः किराँती

काठमाण्डु टुडे २०७७ असार १७ गते १५:४० मा प्रकाशित

काठमाण्डु, १७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी ओलीले यदि नेकपा एमाले ब्युँताए पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीमा स्वागत गर्ने बताएका छन् ।

किराँतीले प्रचण्डले माओवादी परित्याग गरे पनि आफूले पार्टी बचाएर राखेको भन्दै अप्ठ्यारो परे पूरानो घरमा ‘रातो कार्पेट’ बिछ्याएर प्रचण्डलाई स्वागत गर्न तयार रहेको उल्लेख गरे ।

नेकपाको मंगलबारको स्थायी समिति बैठकमा प्रचण्डले एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोजमा निवेदन परेकामा ओलीतर्फ शंकाको सुई तेस्र्याएपछि ओलीले पनि गोपाल किराँतीको नाममा माओवादी केन्द्र दर्ता रहेको जवाफ दिएका थिए ।

‘प्रचण्डहरु जनताको विचार र राजनीति छाडेर एमाले प्रवेश गर्नुभयो’, किराँतीले काठमाण्डूटुडेसँग भने, ‘नेकपा माओवादी केन्द्र प्रचण्डको पुरानो घर हो, फर्केर आउनुहुन्छ भने यो घरमा न्यानो स्वागत छ ।’ उनले ‘सच्चिएर आए’ आफ्नो पार्टीमा प्रचण्डलाई पूरानै स्थान दिने पनि उल्लेख गरे ।

उनले विचार छाडेका कारण ओलीले अपमानित गरेको भन्दै प्रचण्डप्रति दया जागेको उल्लेख गरे । किराँतीले यसाअघि पनि आफूले प्रचण्डलाई पार्टीमा फर्कन आग्रह गरेको स्मरण गरे ।

‘एकपटक प्रचण्डलाई भेटेको थिएँ, उहाँले तपाईंजत्तिको मान्छे नेकपामा आउनुस् भन्नुभएको थियो’, किराँतीले भने, ‘मैले बरु तपाईं पार्टी छाडेर गएको हुनाले पुरानै घरमा फर्कनुस् भनेको थिएँ, जवाफ नदिई हाँस्नुभयो । अहिले पनि अप्ठेरो परेको भए आउनुस् कमरेड यो साइँलो स्वागत गर्न तयार छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us