माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

काठमाण्डु टुडे २०७६ फागुन २ गते १३:३० मा प्रकाशित

काठमाण्डु , २ फागुन — वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले ललिता निवास जग्गा अपचलन प्रकरणमा मुद्दा चलाउन माग गर्दै दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासमा तेस्रो नम्बरमा सुनुवाई हुने भएकाे हाे  । माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

अख्तियारले मन्त्रिपरिषदले गरेको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै दुवै पूर्वप्रधानमन्त्रीविरुद्ध आफूले मुद्दा चलाउन नसक्ने ठहर गरेको थियो । सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्त्रिपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रिट दायर गरेका हुन्।

समितिको प्रतिवेदनमा सरकारी जग्गा अपचलन भएको देखिएपछि अख्तियारले मुद्दा दायर गरेको थियो । यस विषयमा मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने मन्त्रीविरुद्ध मुद्दा चलाइएको छ तर सोही प्रस्तावउपर निर्णय गर्ने प्रधानमन्त्रीलाई भने उन्मुक्ति दिइएको छ । त्यतिबेलाका भौतिक योजना तथा निर्माणमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध पनि मुद्दा चलाइएपछि कांग्रेसले पक्षपात गरिएको भन्दै विरोध गरिरहेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुर्याइएपछि अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us