राजनेता बन्न ओलीलाई मोदी परिवार नै काफी !

–नारायण पौडेल २०७६ जेठ १५ गते १०:४२ मा प्रकाशित

नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पहिलो गैरकाँग्रेस हुन् ।

आमा ज्युँदै हुँदा प्रधानमन्त्री बन्ने तथा सबैभन्दा धेरै मतान्तरले लोकसभामा विजयी हुने प्रधानमन्त्री पनि हुन् मोदी । सन् १९८४ पछि एकै दलले बहुमत ल्याएर मोदीले सन् २०१४ मा प्रधानमन्त्री बन्न सफल इतिहास रचेका थिए । मोदीको नाममा अर्को इतिहास थपिएको छ–फेरिपनि बहुमत !

भारतीय राजनीतिलाई नजिकबाट हेर्नेहरुको अनुमान थियो– मोदी फेरिपनि प्रधानमन्त्री बन्न सक्छन् । तर, थप शक्तिशाली बन्नेछन् भन्ने सायदै कसैले अनुमान गरेको थियो । उनको शक्ति क्षयका लागि मुख्य तीन कारण मानिएको थियो– मोदीले सन् २०१४ मा गरेका अधिकांश वाचा पूरा नहुनु, आम जनताका लागि अच्छे दिन नआउनु, लोकसभा निर्वाचनभन्दा केही पहिले भएको विधानसभा निर्वाचनमा प्रतिपक्षी काँग्रेस गठबन्धन बिजेपीभन्दा बलियो देखिनु ।

मोदीलाई परास्त गर्न काँग्रेसको नेतृत्वमा विपक्षीहरुको कसली चुनावी एकता, अमेरिकालगायतका विश्वशक्ति मोदीप्रति भित्रीरुपमा असन्तुष्ट ।

यी सबै प्रतिकुलताका बाबजुत पनि मोदीका लागि राजनीति थप अनुकुल सावित भइदियो । खहरे ठानिएको मोदीको उदय अकाट्य दरिएको छ । योसँगै मोदी शक्तिका बारे विश्वजगतमा नयाँ बहश शुरु भएको छ । आखिर मोदी शक्तिको राज के हो ?

निसन्देह मोदी शक्तिको मुख्य राज मोदी र भाजपा हुन् । तर, अर्को एउटा पाटो लुकेको छ जसले मोदीलाई थप शक्तिशाली बनाएको छ । त्यो हो– प्रधानमन्त्री मोदीको शक्तिप्रति कुनै आशक्ति नदेखाउने उनको परिवार ।

नरेन्द्र मोदी विशाल परिवारका सदस्य हुन् । गुजरातको उत्तरी भागमा रहेको बडनगरमा मोदी परिवारका दर्जनौँ घर छन् । त्यसैले मोदीको जन्मथलो मोदी चर्चित बन्नुभन्दा पहिले नै मोदी टोलले चिनिन्थ्यो । मूलचन्द मोदीका ६ भाइ छोरा मध्ये जेठा दामोदरदास मोदीका साँइला छोरा हुन् नरेन्द्र मोदी । मूलचन्दका ६ भाइ छोराका सन्तान जोड्दा मोदीका कम्तिमा २४ जना दाजुभाइ दिदीबहिनी छन् । ती २४ जनाका छोरा छोरी नातिनातिना जोड्दा मोदी परिवारको संख्या सयौँ पुग्छ । सयौँ परिवारका सदस्य भएपनि दिल्लीको शक्ति राजनीतिमा देखिने नरेन्द्र एक्ला मोदी हुन् ।

मोदीमाथि सन् २०१९ को निर्वाचनमा प्रतिपक्षीबाट लगाइएको जोडतोडको आरोप थियो – भ्रष्टाचारको । राफेल नामक सैन्य विमान खरिदमा अरवौँ रुपैयाँ हिनामिना गरेको आरोप मोदीमाथि लगाइएको थियो । मोदीले आफूलाई देशको चौकीदारका रुपमा चिनाइरहेका थिए । प्रतिपक्षी दलका नेता राहुल गान्धीले चौकीदार शब्दमाथि नै आक्रामक नारा बनाइदिए– चौकीदार चोर हे । यो नारालाई खण्डित गर्न मोदीलाई परिवारिक साथ मिल्यो । मोदीले खुलेर भन्न पाए– मेरो अघि न कोही छ, न पछि कोही छ । म के का लागि भ्रष्ट्राचार गरुँ ? उनले आफ्नो परिवारका बारे एक कदम अघि बढ्दै भने– मेरो परिवारका सदस्यप्रति नमन गर्दछु, जसले सामान्य जीवन व्यथित गरेर मेरो शीर उँचो बनाएका छन् । दाजुभाइ–दिदीबहिनी, भतिजाभतिजीले मबाट प्राप्त गर्ने आशा राखेको भए सायद म निष्कलंक रहन सक्दैनथे ।

मोदीले प्रधानमन्त्रीको रुपमा पहिलो पटक सपथ ग्रहण गर्दा दक्षिण एशियाका कार्यकारी प्रमुखलाई निमन्त्रणा गरेका थिए । देशका सबै क्षेत्रका प्रतिष्ठित र अनुकरणीय काम गरेका जनहरुलाई डाकेका थिए । तर, उनले आफ्नै परिवारका सदस्यलाई सपथ ग्रहण समारोहमा बञ्चित गरे । उनले प्रष्ट सन्देश दिए– शक्तिबाट परिवारका सदस्यलाई टाढा राखिने छ । पहिलोपटक गुजरातको मुख्यमन्त्री हुँदा सरकारी निवासमा एकपटक पारिवारिक मिलन र फोटो सेसन गरेका मोदीले देशको प्रधानमन्त्री भएपछि त्यो पनि गरेनन् । प्रधानमन्त्रीका रुपमा मोदीले गरेको पारिवारिक वेवास्तालाई लिएर उनको परिवारले रत्तिभर गुनासो गरेन । बरु गर्व गर्न लायक सन्देश प्रवाह गरिरह्यो ।

उदाहरण शुरु गरौँ मोदीकी आमाबाटः

सन् २०१४ को चुनावी नतिजा सार्बजनिक भएसँगै आमाको आर्शिवाद लिन मोदी गुजरात पुगे । कान्छो छोरा पंकजको तीन कोठे घरमा बस्ने हिराबेनले प्रधानमन्त्री छोरासँग केही अपेक्षा गरिनन् । बरु, उसैलाई नपुगेको होला भन्ठानेर केही पैसा हातमा राखिदिइन् । सो दृश्यले मातृप्रेमको उदाहरणमात्र प्रस्तुत गरेन, मोदी परिवारप्रति सम्मान जगायो । मोदीले आमालाई प्रधानमन्त्री निवासमै राख्न सक्थे । मोदी र हिराबेन दुबैको रुची त्यसमा देखिएन । पहिलो कार्यकालमा मोदीले एक पटक आमालाई दिल्ली डाकेछन् । हप्ता दिन जति प्रधानमन्त्री निवासमा बसेकी हिराबेनले मोदीसँग भनिछन्– मलाई मेरै गाउँ रमाइलो, कम्तिमा साथीभाइसँग मन बहलाउन पाउँछु । बयोवृद्ध आमाप्रति मोदीको मोह नभएको होइन । हरेक सफलता र विशेष दिनमा आमाको आर्शिबाद लिन मोदी गुजरात पुगेकै हुन्छन् । आमाले छिमेकीको घरमा काम गरेर आफुहरुको रेखदेख गरेको इतिहासभन्दा उनी प्रत्येक पटक रोएकै हुन्छन् ।

नरेन्द्र मोदीकी श्रीमती हुन् जशोधावेन । किशोरवयमा बैबाहिक जीबनमा बाँधिएका थिए नरेन्द्र र जशोधा । भारतीय संचारमाध्यमसँगको कुराकानीमा जशोधाले बताएअनुसार विवाह भएको ३ बर्षमा उनीहरु मुस्किलले ३ महिना सँगै बसेका थिए । विवाहपछि पनि जशोधा प्रायः माइतीमै बसिन्, मोदीले घर छोडेर हिँडेपछि उनीहरुको भेटघाट नै भएन । मोदी प्रधानमन्त्री भएपछि पेशाले शिक्षक रहेकी जशोधाका लागि गुजरात सरकारले भीभीआईपी सुरक्षा टोली खटायो । जशोधाले आफू कसरी भीभीआईपी भएको भन्ने जानकारी दिनका लागि सरकारसँग मागमात्रै गरिनन्, आफुलाई कुनै असुरक्षा नरहेको भन्दै सुरक्षाकर्मी लिन मानिनन् । मोदीकै नाममा सिँगो जीवन समर्पित गरेकी जशोधाले पतिले दिएको बिछोडप्रति गुनासो पनि गर्दिनन्– मेरो भाग्यमा यस्तै रहेछ, मलाई साथ नदिएपनि देश र देशबासीलाई साथ दिने उसको लक्ष्य पूरा होस् । बिछोडको उपहार दिने पतिप्रति जशोधाको बेजोड प्रथाना !

नरेन्द्र मोदीका जेठा दाजु हुन्– सोमभाइ । झण्डै असी पुग्न लागेका सोमभाइ सामाजिक सेवामा सक्रिय छन् । वृद्ध आश्रम चलाउँछन् । भाइ प्रधानमन्त्री भएपछि उनीप्रतिको आकर्षण झन् बढेको छ । तर, सोमभाइ आफूलाई प्रधानमन्त्रीको दाइको रुपमा चिनाउन चाहन्नन् । केही पहिले सोमभाइ गुजरातकै गाजीपुरमा रहेको सिद्धपीठ हथियाराम मठस्थित बुढियाँ मन्दिर गएका थिए ।

श्रीमतीसहित पूजाआजाका लागि पुगेका सोमभाइलाई त्यहाँ धेरैले चिन्दैनथे । सयौँ भक्तजनका सामू मठाधीशले सोमभाइको परिचय गराइदिए– प्रधानमन्त्रीका जेठा दाजु । तर श्रद्धय मठाधीशले गराएको परिचयलाई खण्डित गरेर सोमभाइले सबैलाई आश्चर्यचकित पारिदिए । उनले तत्काल जवाफ फर्काए– म नरेन्द्र मोदीको जेठो दाजु हुँ, तर प्रधानमन्त्री नरेन्द्रका लागि म एक भारतीय दाजुभाइमात्र हुँ । मेरो र नरेन्द्रका बीचमा एउटा यस्तो पर्दा छ जुन पर्दाका कारण प्रधानमन्त्रीका रुपमा उसले नत मलाई दाइका रुपमा हेर्छ नत म उसलाई भाइका रुपमा ।

अर्का दाजु हुन् अमृतभाइ मोदी । छोरा संजयसँगै मिलेर अमृतले पाटपूर्जाको व्यवसाय गर्छन् । संजयको लगाव प्रविधिमा छ । तर, संजय प्रविधिमैत्री काकाको आडमा कुनै तरक्की गर्ने आशामा छैनन् । उनी भन्छन्– मलाई ठीकै छ, काकाले आम भारतीयका लागि गरुन् ।

प्रल्हाद प्रधानमन्त्री मोदीका भाइ हुन् । गल्ला व्यवसायी प्रल्हाद गुजरात गल्ला व्यवसायी संघका अध्यक्ष पनि हुन् । साना व्यवसायीका लागि मोदी सरकार मैत्रीपूर्ण नरहेको भन्दै प्रल्हाद सडकमा धर्नासमेत बसे । तर, मोदीको देश प्रेमबारे प्रल्हाद प्रवक्तासरह प्रस्तुत हुन्छन् । उनी गुजरातभर डुलिरहन्छन् । साथीभाइ र संचारकर्मीले उनलाई सुरक्षा चुनौतिबारे प्रश्न गर्ने गर्छन । प्रल्हाद जवाफ फर्काउछन्– मेरो दाइले गल्ति नगरेसम्म हामीलाई कुनै असुरक्षा छैन । दाइ देश र जनताका लागि समर्पित रहुन्जेल हामीलाई सुरक्षाको के चिन्ता ? उनको प्रतिप्रश्न मोदीका लागि कम्ता भातृ–उपहार होइन ।

मोदीकी एकमात्र बहिनी हुन्– बसन्तबेन । दिदीबहिनीको जातै आशे भनिन्छ । माइतीको बुझाइ यस्तै हुन्छ । तर बसन्तबेन देशकै सर्बशक्तिमान माइतीसँग केही अपेक्षा राख्दिनन् । सामान्य जीवनशैलीकै बसन्तबेनले नरेन्द्र मोदीसँग कहिल्यै सहयोगको याचना नगरेको बताउँछिन् ।

परिवकारका कान्छा भाइ पंकज प्रधानमन्त्री नरेन्द्र मोदीसँग सबैभन्दा बढी भेटघाट गर्न पाउने भाग्यमानी सदस्य हुन् । कारण उनी आमासँग बस्छन्, नरेन्द्र मोदी आमालाई भेट्न आउादा पंकजले पनि भेट्न पाउँछन् । यसकारण मोदीसँगै टेलिभिजनका पर्दामा यदाकदा देखिने पात्र हुन् पंकज । त्यसैले उनलाई धेरैले चिन्छन् पनि । एउटा कार्यक्रममा पंकजलाई निम्ता गरियो । उनलाई प्रमुख अतिथिका रुपमा आसन ग्रहण गर्न र बोल्न लगाइयो । प्रधानमन्त्रीको भाइ भएकै कारण प्रमुख अतिथि बनाइनु आफ्नो र दाजुको नीति विपरित रहेको भन्दै पंकजले दुःख व्यक्त गरे । उनले प्रमुख अतिथिको आशन फिर्ता गरेको जनाए । र, आफुलाई प्रधानमन्त्रीको भाइको रुपमा नभइ आफुले गरेका कामको आधारमा मात्र मूल्यांकन गर्न अनुरोध गरे ।

मोदीको परिवार शक्तिबाट टाढा छ । शक्तिकेन्द्र हैदरावाद हाउसबाट हजार किलोमिटर पर रहका मोदीहरु शक्तिबाट टाढा रहेर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाइरहेका छन् । शक्तिप्रति आशक्ती नदेखाएर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाउने मोदी परिवारको शक्ति कति ? लोकसभा निर्वाचनले उत्तर दिइसकेको छ ।

मोदी राजनीतिसँग असहमत हुनलाई हजार तर्क पेश गर्न सकिन्छ । तर, मोदी परिवारको सादगीका विपक्षमा तथ्य पेश गर्न सायदै सहज छ । मोदी परिवार राजनीति गर्नेहरुका लागि आफैँमा पाठशाला बनेर खडा भएको छ । महात्मा गान्धी र जहारलाल नेहरु परिवारको विरासत रहेको गान्धी परिवारलाई बिना बिरासतका मोदीले त्यसै ढलाएका होइनन् । मोदीको परिवार मोदीका लागि टाढै बसेर ढाल बनिदियो । भारतमा चरम दक्षिणपन्थी राजनीतिका नायक मोदी परिवारबादबाट मुक्त भएपनि नेपालमा क्रान्तिनायकहरु परिवारबादकै कारण बदनाम भएका छन् । ग्रीसेली दार्शनिक प्लोटोले २४०० बर्ष पहिले भनेको सन्दर्भ आजपनि सान्दर्भिक छ– आदर्श नेता हुनका लागि पारिवारिक मोह र बन्धनबाट मुक्त हुनैपर्छ ।

निसन्तान प्रधानमन्त्री ओलीले परिवारबादको क्रमभङ्ग अपेक्षा गरिएको हो । छोराछोरीलाई स्थापित गर्न आफ्नै विरासत बन्दकी राख्नुपर्ने पितृ–बाध्यताबाट उनी मुक्त रहन सक्छन् । सात पुस्ताका लागि सोच्नुपर्ने सुर्तापनि ओलीका लागि नहुनुपर्ने हो । पार्टी पनि कमरेडेली अर्थात सबै नेता कार्यकर्ता साथी भन्ने खालको हो । तर, कमरेडेली राजनीति गर्ने भनिएको उनको पार्टीभित्रै उनलाई एकथरीले बाउ भन्न थाले ।

जसले बाउ भन्न थाले उनै नजिक भए, सत्ता, शक्ति र स्रोतमा उनीहरुको ताउ तागेकै छ । ओलीको राजनीतिलाई आफ्नो बपौती ठान्नेहरु ओलीका लागि मुख्य खतराका घण्टी सावित हुँदैछन् । नक्कली सन्तानदेखि सावधान रहन सके प्रधानमन्त्री ओलीले सक्कली रुपमै परिवारवाद विसर्जन गर्न सक्नेछन् । यसो गर्दा ओली नेपाली राजनीतिमा नयाँ अध्याय आरम्भ गर्ने राजनेता ठहरिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us