भरतमोहनजीसँग तुलनायोग्य नेता छैनन्

-डा. प्रकाशचन्द्र लोहनी २०७५ फागुन ३० गते १७:०७ मा प्रकाशित

भरतमोह अधिकारी व्यक्तिका हिसाबले असल मान्छे हो हुनुहुन्थ्यो । आजभोलि फरक विचार वा मत राख्ने अरुप्रति शक्तिमा भएकाहरुले असहिष्णु व्यवहार देखाउने प्रवृत्ति छ । तर, उहाँमा मैले कहिल्यै त्यस्तो दरिद्र स्वभाव देखिन । उहाँमा पक्ष/विपक्ष सबैसँग असल सम्बन्ध राख्नसक्ने क्षमता थियो ।

अर्थमन्त्रीका रुपमा उहाँ कुशल व्यवहारवादी अर्थशास्त्री हो । उहाँका व्यवहारिक अर्थशास्त्र नीतिको म पनि एक समर्थक हुँ । अर्थमन्त्रीका रुपमा उहाँले मुलुकमा धेरै व्यवहारिक अर्थनीति अघि सार्नुभएको छ । कतिपय अर्थमन्त्री भएका राजनीतिज्ञमा कित नीजि क्षेत्रका कुरै सुन्न नसक्ने कि त नीजि क्षेत्रलाई नै सर्वस्व ठान्ने मानसिकता पाइन्छ । भरतमोहनजी ती दुवै अतिवादी सोचबाट मुक्त हुनुहुन्थ्यो । उहाँले नीजि क्षेत्रलाई कहिल्यै उपेक्षा गर्नुभएन ।

र, राज्यको दायित्वबाट पनि कहिल्यै विमुख हुनुभएन । नीजि क्षेत्रलाई पनि प्रोत्साहन गर्ने र त्यसका साथै राज्यको सक्रियतामा लगानी वृद्धि गर्नुपर्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण थियो । भरतमोहनजीमा नीजि क्षेत्रका समस्या सुन्नसक्ने र समाधानका लागि पहल लिनसक्ने खुबी थियो । त्यही कारण मेरो विचारमा नेपालको नीजि क्षेत्रले उहाँलाई सदैव स्मरण गरिरहनेछ । साथै सामाजिक सुरक्षाका लागि राज्यले लगानी गर्नुपर्छ भन्ने नीति उहाँले अघि सार्नुभयो ।

राज्यको आर्थिक नीतिका हिसाबले जो कोही अर्थमन्त्री भए पनि उसका लक्ष्मण रेखाहरु खासै फरक हुँदैनन् । यद्यपि त्यही लक्ष्मण रेखाभित्र बसेर पनि सामाजिक सुरक्षाका बारेमा उहाँले जेजस्ता नीतिहरु अंगीकार गर्नुभयो, ती सफल भए । आज पर्यन्त हरेक सरकार र अर्थमन्त्रीले त्यसलाई निरन्तरता दिनुपर्ने अवस्था छ । त्यो सफल भएर नै गस्तो भएको हो ।

उहाँ तीनपटक मुलुकको अर्थमन्त्री बन्नुभयो । उहाँका सबै कार्यकाल सामान्यतः विवादरहित रहे । अर्थमन्त्रीका रुपमा काम गर्दा उहाँले आफूमाथि कहिल्यै शंका गर्ने ठाउँ छाड्नुभएन । राजनीतिक नेताले आफू शक्तिमा भएका बखत शक्तिको दुरुपयोग ग¥यो भन्ने आरोप लाग्ने ठाउँ नदिनु उसको सबैभन्दा ठूलो सफलता हो । भरतमोहनजी यसमा सफलता हुनुभयो । नेपालको राजनीतिमा शक्तिको आडमा ‘कुत’ खाने वातावरण बढेर गएको छ । त्यसको कसीमा दाँज्दा भरतमोहनजीको उचाई कसैसँग तुलनायोग्य छैन ।

उहाँ व्यवहारिक मानिस हो । अरुको कुरा सुन्न सक्ने मानिस हो । मैले मात्र जानेको छु भन्ने घमण्ड उहाँमा थिएन । अरुबाट पनि केही सिक्ने कुरा छ भने सिक्नुपर्छ भन्ने गुण उहाँमा थियो । मैले नै सबै जानेको छु भन्ने मानिस धेरै यहाँ छन् । आफ्ना कुरा भन्ने र अरुका कुरा सुन्ने क्षमता उहाँमा अदभूत थियो ।
(पूर्वअर्थमन्त्री डा. लोहनीसँगको कुराकानीमा आधारित)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us