नेपाली इतिहासकै भीषण युद्ध बेनी आक्रमण झल्काउने यो एउटा पोल !

काठमाण्डु टुडे २०७२ पुष २३ गते १८:५६ मा प्रकाशित

काठमाण्डु, २३ पुस– तत्कालीन विद्रोही नेकपा माओवादीले चलाएको १२ वर्षे सशस्त्र युद्धका कारण सत्र हजार नेपालीको मृत्यु भयो । द्वन्द्वका क्रममा हजारौं अंगभंग र घाइत भए । मुलुकभर करोडौं रुपैयाँको भौतिक सम्पति नष्ट भयो । नेकपा माओवादीलाई आतंककारी घोषणा गर्दै सशस्त्र युद्धमा संलग्न रहेका नेताहरुको टाउकाको मोल तोक्दा पनि राज्यले नियन्त्रणमा लिन नसकेपछि अन्तत युद्ध विराम भएर शान्ति प्रक्रियामा आएपछि माओवादीको सशस्त्र युद्ध राजनीतिक मुद्धामा केन्द्रित भयो ।

beni bullet poll (4)

त्यसपछि मुलुकमा शान्ति स्थापना भएर नयाँ राजनीतिक आयाम शुरु भयो । दलहरुले पुराना संरचनालाई परिवर्तन गर्दै राज्यका नीति निर्माणदेखि हरेक तहमा आम जनताको प्रत्यक्ष सहभागीता बढाउन संविधानसभाको मुद्धा उठाए । झण्डै आठ बर्षको लामो प्रयासपछि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको छ ।

beni bullet poll (3)

१२ वर्षे द्वन्द्व भएको एक दशक बित्न नपाउँदै आमुल परिवर्तनका लागि गरिएको भनिएको युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेका छन् । युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट घाइते र अंगभंग भएकाहरु बाहेक अन्यले बिस्तारै माओवादी जनयुद्धलाई बिर्संदै गएका छन् । त्यसबेला राज्य र माओवादी दुवै पक्षबाट कैयौं स्थानमा दोहोरो फायरीङ मात्र भएका छैनन् करोडौंका भौतिक संरचना क्षतिग्रस्त हुनुका साथै सयौं मानिसका मृत्युसमेत भएको छ । राज्य र विद्रोही पक्षबाट दोहोरो गोली हानाहान र बम बिस्फोट भएका विभिन्न संरचनाहरुको संरक्षणको अभावामा युद्धका संरचनाहरु बिस्तारै लोप हुन थालेका छन् ।

आन्दोलनका क्रममा कैयौं सार्वजनिक स्थल, विद्यालय भवन, सरकारी कार्यालय र निजी घरहरु पनि क्षतिग्रस्त भएका थिए । तर, संरक्षणको अभावमा युद्धरत पक्ष शान्ति प्रक्रियामा आएको एक दशक बित्न नपाउँदै ती अवशेसहरु लोप हुन थालेका हुन् ।

नेकपा माओवादीले २०६० साल चैत ७ गते सदरमुकाम बेनीमा आक्रमण गरेको थियो । आक्रमणका क्रममा बेनीका सबैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । बेनी आक्रमणका क्रममा दोहोरो फायरिङमा छिया छिया बनेको बिजुलीको एउटा पोल ललितपुरको पाटन ढोकामा युद्ध संग्रहालयमा आइपुगेको छ ।

beni bullet poll (2)

बेनीबाट लिइएको सो पोल भने हाल निर्माणाधिन संग्राहालयका लागि भन्दै त्यसकै परिसरमा गाडिएको छ । पोललाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी समेत भइरहेका छन् । फेसबुक र ट्वीटरमार्फत युद्धकालिन झझल्को दिने ऐतिहासिक महत्व बोकेको पोलललाई बेबारिसे छाडिएको र त्यसमा कुने ब्यक्तिले कब्जा जमाएको चर्चा चलिरहेको छ । कतिपयले सो पोल एक नीजि होटलका लागि बिक्रि गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘लौँ हेर्नुस् बेनी घटनामा तत्कालिन माओवादी र सेनासँगको भिडन्तका क्रममा गोली लागेर छियाछिया भएको पोल एक क्याफेले किनेर राखेको छ’ भन्दै तस्बिरसहित सामाजिक संजालमा यो विषय भाइरल बनेको छ ।

१२ वर्षे द्वन्द्वको झलक दिने बिजुलीको पोल मदन पुरस्कार पुस्तकालय हातामा स्थापना भएको ‘शान्ति संग्रहालय’मा लोगोका रुपमा राखिएको पत्रकार कनकमणी दीक्षितले जानकारी दिए । द्वन्द्व अवधिका सामग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालयले ‘नेपाल शान्ति संग्रहालय’ को योजना सुरु गरेको उनले बताए ।

beni bullet poll (1)

मुलुकमा फेरि द्वन्द्व नहोस् भन्ने उद्धेश्यले नै शान्ति संग्रहालयको योजना शुरु गरेका हौं ।’ दीक्षितले काठमाण्डु टुडेसँग भने, ‘यो संग्रहालय मेरो निजी होइन ।’ उनले १७ हजार नेपालीको ज्यानको बाजी लागेर आएको राजनीतिक परिवर्र्तनपछि दलहरुले युद्धका अवशेसहरुलाई संग्रह गर्न चासो नदेखाएकाले पुस्तकालयले भावी पुस्ताका लागि अध्ययन अनुसन्धान गर्न शान्ति संग्रहालयको शुरुवात गरेको बताए ।

दीक्षितले आन्दोलनको जगमा भएको राजनीतिक परिवर्तनबाट सत्तामा पुगेका नेताहरुले १२ वर्षसम्म चलेको सशस्त्र युद्धका अवशेसको संरक्षण गर्न चासो नदिएकाले नयाँ पुस्ताले पनि स्मरण गरोस् भनेर आफूले संग्रहालयको अभियान शुरु गरेको बताए ।

‘हामी नेपालीको चाँडै बिर्सने बानी छ ।’ दीक्षितले भने, ‘त्यस्तो बेलाको लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएन भने भोलिको पुस्ताले यसबारे अध्ययन सामग्री पाउँदैन ।’

मुलुकभर द्वन्द्वका अवशेस भएका तस्विरहरु संकलन हुने क्रम जारी रहेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । दुइटा पक्षले हतियार बोकेर लड्दा देश, समाज र अर्थतन्त्र कसरी छियाछिया भयो भन्ने आम नेपालीले भोगका छन् । मुलुकभर ४ हजारमध्ये ३२ सय गाविस भवन ध्वस्त पारिएका थिए ।

त्यस्ता कुरा ल्याउन नसकिएपनि गोली लागेका अस्पतालका शैयादेखि लिएर तानसेन दरबार अगाडिका सवारी साधनजस्ता सामग्री संकलन गरेर संग्रहालयमा राख्ने योजना रहेको दीक्षितले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us